कम लागतमा धेरै फाइदा लिन सकिने ‘क्लाउड कम्प्युटिङ’ – हेमन्त बराल

कम लागतमा धेरै फाइदा लिन सकिने ‘क्लाउड कम्प्युटिङ’ – हेमन्त बराल

कम लागतमा धेरै फाइदा लिन सकिने ‘क्लाउड कम्प्युटिङ’ – हेमन्त बराल

क्लाउड कम्प्युटिङ भन्नाले क्लाउड सेवाप्रदायक संस्थाहरूले क्लाउड प्लेटफर्म तथा इन्टरनेटमार्फत सुरक्षित तवरले भर्चुअल रूपमा प्रदान गरिने विभिन्न कम्प्युटिङ सेवा जस्तैः सर्भर (कम्प्युट– प्रोसेसर, मेमोरी), स्टोरेज, डाटाबेस, नेटवर्किङ तथा एप्लिकेसनहरूलाई बुझिन्छ । यसमा प्रयोगकर्ताले आफ्नो डेटा तथा एप्लिकेसनहरू इन्टरनेटमा स्टोर गर्न, प्रोसेस गर्न र प्राप्त गर्न सक्छन्, जसका लागि तिनीहरूलाई आफ्नै फिजिकल हार्डवेयर या अन्य इन्फ्रास्ट्रक्चर आवश्यक पर्दैन ।

यसलाई युजरले इन्टरनेट या इन्ट्रानेटमार्फत आफूलाई आवश्यकताअनुसारको स्रोत तथा साधन आफूले प्रयोग गरेबमोजिमको रकम भुक्तानी गरी सजिलै सर्वसुलभ तरिकाले प्राप्त गर्न सक्छन् ।

क्लाउड निजी तथा सार्वजनिक दुवै हुन सक्छन् । निजी वा सार्वजनिक जुनसुकै भए पनि क्लाउड कम्प्युटिङको एक मात्र उद्देश्य भनेको सहज र स्केलेबल सेवा दिनु हो । क्लाउड कम्प्युटिङमा स्टोर गरेको कुनै पनि स्रोतसाधन तथा एप्लिकेसनलाई इन्टरनेट प्रयोग गरेर जहाँबाट पनि पहुँच पाउन सकिन्छ । उक्त स्रोतसाधन तथा एप्लिकेसनहरू आफ्नो इच्छाअनुसार आफूलाई चाहेको बेलामा प्रयोग गर्न सकिन्छ । त्यसकारण पछिल्लो समय क्लाउड कम्प्युटिङको प्रयोग बढ्दै गएको छ ।

क्लाउड कम्प्युटिङका प्रमुख विशेषता तथा फाइदा
क्लाउड कम्प्युटिङमा थोरै खर्च गरेर धेरै फाइदा लिन सकिन्छ । क्लाउड कम्प्युटिङ सस्तो पनि हुन्छ । क्लाउड कम्प्युटिङको प्रयोग गर्न विशेष हार्डवेयर, सफ्टवेयर केही आवश्यक पर्दैन । यसलाई आफूसँग भएको कुनै पनि डिभाइसबाट सजिलै चलाउन सकिन्छ ।

कस्ट–इफेक्टिभ (कम लगानी)— हार्डवेयर खरिद गर्नु नपर्ने भएकाले खर्च कम हुन्छ । एकमुस्ट लगानी गर्नु नपर्ने ।
आवश्यकताअनुसार स्रोतको प्रयोग आन–डिमान्ड सेवा— प्रयोगकर्ताले आवश्यकताअनुसार स्रोत प्रयोग गर्न सक्छन् ।
प्रयोगअनुसारको मासिक, त्रैमासिक, अर्धवार्षिक या वार्षिक रूपमा रकम भुक्तानी ।
स्केलेबिलिटी-लचिलो— आवश्यकतानुसार स्रोत घटाउन वा बढाउन सकिन्छ ।
रिमोट एक्सेस— इन्टरनेटको माध्यमबाट जुनसुकै ठाउँबाट सेवा प्रयोग गर्न सकिन्छ ।
सुरक्षित-आफ्नै नियन्त्रण तथा डाटा नोक्सानी हुनबाट सुरक्षित, ब्याकअपको राम्रो प्रबन्ध ।
स्वचालित अपडेट— सफ्टवेयर तथा सुरक्षा अपडेटहरू स्वतः प्राप्त हुन्छन् ।

क्लाउड कम्प्युटिङका प्रकार
१. प्राइभेट क्लाउड— एकल संस्था वा कम्पनीका लागि मात्र उपलब्ध क्लाउड सेवा ।
प्राइभेट क्लाउडलाई आन्तरिक वा इन्टरप्राइज क्लाउड पनि भनिन्छ, जसमा क्लाउड सेवाप्रदायक संस्थामार्फत तपाईंलाई चाहिने सम्पूर्ण स्रोत सुरक्षित तवरले सुरक्षित नेटवर्क (इन्ट्रानेट तथा इन्टरनेट भिपिएन) मार्फत प्राप्त गर्न सकिन्छ । यसमा तपार्इंले आफूलाई चाहिने एप्लिकेसनहरू सहजै इन्स्टल गरी प्रयोग गर्न सक्नुहुनेछ । सबै डाटा फायरवालपछाडि सुरक्षित रहन्छ । यसको सम्पूर्ण कन्ट्रोल तपाईंमा निहित रहन्छ र पब्लिकले सहज एक्सेस पाउँदैनन् । क्लाउड सेवाप्रदायक संस्थाले तपाईंलाई केवल तपाईंको आवश्यकताअनुसारको स्रोत सुरक्षित रूपमा उपलब्ध गराउँछन् ।

२. पब्लिक क्लाउड— साझा क्लाउड सेवा, जसलाई धेरै व्यक्तिले प्रयोग गर्न सक्छन्
पब्लिक क्लाउड इन्टरनेटमार्फत उपलब्ध हुन्छ र यो पब्लिक आइपीमार्फत प्राप्त हुने हुँदा यसमा पब्लिकको पहुँच रहन्छ । प्राइभेट र पब्लिक क्लाउडको मुख्य भिन्नता भनेको व्यवस्थापन हो । प्राइभेट क्लाउडको व्यवस्थापन तपाईं स्वयंले गर्नुपर्ने हुन्छ भने पब्लिक क्लाउडको सम्पूर्ण व्यवस्थापन सेवाप्रदायकले संस्था आफैँले गर्छ । साथै, तपाईंको सम्पूर्ण डाटा सेवाप्रदायक संस्थाको डाटासेन्टरमा स्टोर हुने गर्छ र सोको व्यवस्थापन तथा मर्मत–सम्भार स्वयं सेवाप्रदायक संस्थाले गर्छ । ठूला–ठूला कम्पनीले प्राइभेट क्लाउड रोज्न सक्छन् भने सानो व्यवसायकर्ताले पब्लिक क्लाउड रोज्न सक्छन् । जस्तैः गुगल क्लाउड, एमेजन वेभ सर्भिस, माइक्रोसफ्ट अज्युर, अलिबाबा, अरेकल, आइबिएम, हुवावे आदि ।

३. हाइब्रिड क्लाउड— पब्लिक र प्राइभेट क्लाउडको मिश्रण ।
यसमा संस्था वा प्रयोगकर्ताले केही सेवा तथा डेटा आफ्नो प्राइभेट क्लाउडमा राख्छन् भने केही सेवा तथा डेटा पब्लिक क्लाउडमा राख्न सक्छन् । यस प्रकारको क्लाउडले प्रयोगकर्तालाई दुवै क्लाउडको फाइदा लिन अनुमति दिन्छ । प्राइभेट क्लाउडको सुरक्षा र पब्लिक क्लाउडको स्केलेबिलिटी तथा लो–कस्ट इन्फ्रास्ट्रक्चर यसका प्रमुख विशेषता हुन ।

क्लाउड कम्प्युटिङ सेवाका प्रकार
क्लाउड कम्प्युटिङ सेवाका विशेष गरी तीन प्रकार हुन्छन् । कुनै पनि कम्पनीले आफ्नो आवश्यकताअनुसार सेवा उपयोग गर्न सक्छ । क्लाउड कम्प्युटिङ सेवाका प्रकार निम्नानुसार रहेका छन्ः

१. इन्फ्रास्ट्रक्चर एज अ सर्भिस
यसअन्तर्गत कोलोकेसन (अनवरत पावर र कुलिङ भएको सुरक्षित स्थान तर स्रोत आफ्नै), बेयर मेटल सर्भर (सर्भर पनि सेवाप्रदायक संस्थाले भाडामा उपलब्ध गराउने), म्यानेज्ड प्राइभेट क्लाउड, पब्लिक क्लाउड (भर्चुअल प्राइभेट सर्भर— प्रोसेसर, मेमोरी, स्टोरेज), नेटवर्किङ, सेक्युरिटी, स्टोरेज आदि पर्छन् ।

२. प्लेटफर्म एज अ सर्भिस
यसअन्तर्गत एप्लिकेसन डेभलपर्सलाई आवश्यक पर्ने एप्लिकेसन विकास तथा होस्टिङका लागि आवश्यक पर्ने प्लेटफर्म जस्तै पाइथन, रनटाइम इन्भाइरोमेन्ट (जस्तै— जाभा रनटाइम), डिजाइनिङलाई आवश्यक पर्ने विभिन्न युटिलिटी, डाटाबेस (एसक्युल, अरेकल), वेभ सर्भर (टमक्याट), केही अपरेटिङ सिस्टम आदि ।

३. सफ्टवेयर एज अ सर्भिस
यसअन्तर्गत रेडिमेड-तयार एप्लिकेसनहरू जस्तै इआरपी, सिएमएस, शिक्षा-स्वास्थ्य-अकाउन्टिङ आदिका एप्लिकेसन, माइक्रोसफ्ट–३६०, गुगल ड्राइभ, जिमेल, ड्रपबक्स, भिडियो कन्फेरेन्सिङ, सोसल नेटवर्किङ आदि पर्छन् ।

यसका अतिरिक्त सेक्युरिटी एज अ सर्भिस, फायरवाल एज अ सर्भिस, वेब एन्ड इमेल होस्टिङ आदि सेवाहरू पनि क्लाउडमार्फत सजिलै प्राप्त गर्न सकिन्छ ।

क्लाउड डाटा सेन्टरको आवश्यकता किन ?
क्लाउड डाटा सेन्टरमार्फत आफ्नो आवश्यकताअनुसारको रिसोर्सेसहरू सजिलैसँग रेन्टल (भाडा) का आधारमा प्राप्त गर्न सकिन्छ । यसबाट स्रोतमा हुने प्रारम्भिक लगानीको बचत हुनुका साथै आफूलाई आवश्यक पर्ने स्रोतलाई सजिलै बढाउन सकिन्छ । यसबाट ठूलो धनराशिको बचत हुनुका साथै प्राविधिक जनशक्ति तथा डाटा सेन्टरका भौतिक उपकरणहरूको आवश्यकता पर्दैन । सजिलैसँग बुझ्नका लागि यदि अन प्रिमेसेस डाटासेन्टर बनाउनका लागि छुट्ट्याइएको बजेट स्वयं आफूले लगानी गरी सोबाट प्राप्त हुने ब्याज मात्रै पनि भुक्तानी गरी क्लाउड डाटा सेन्टरबाट सजिलैसँग सेवा तथा सुविधाहरू प्राप्त गर्न सकिन्छ ।

क्लाउड कम्प्युटिङलाई बुझ्ने सजिलो तरिका
क्लाउडलाई सजिलो भाषामा बुझ्नका लागि एउटा उदाहरण हेरौँ । मानौँ कि तपाईंलाई नयाँ अफिस सेटअप गर्नुपर्नेछ । सुरुमै कत्रो अफिस बनाउने, कति स्टाफ राख्ने, केके फर्निचर राख्ने भन्ने कुराको अन्योल हुन सक्छ । त्यसका लागि कुनै अपार्टमेन्टमा गएर आफूलाई चाहिने स्पेस भाडामा लिन सकिन्छ र आवश्यकताअनुसार त्यसलाई बढाउँदै लैजान सकिन्छ ।

क्लाउडलाई एउटा अपार्टमेन्ट या फ्ल्याटको रूपमा बुझौँ, जहाँ सुरक्षित नेटवर्कको साथमा धेरै कोर भएको प्रोसेसर, धेरै मेमोरी अनि धेरै स्टोरेज भएको सर्भर, अनि एप्लिकेसन बनाउन चाहिने प्लेटफर्म, रनटाइम इन्भाइरोमेन्ट, विभिन्न सफ्टवेयरहरू रहेका हुन्छन्, जसलाई आवश्यकताअनुसार भाडामा प्रयोग गर्न सकिन्छ ।
प्रोसेसरको मुख्य कार्य भनेको दिइएको निर्देशनअनुसार छिटो तरिकाले डाटा तथा अन्य आन्तरिक प्रोसेसिङ गर्नु हो । मेमोरीको काम भनेको एकसाथ एकभन्दा बढी एप्लिकेसन खोलेर कार्य गर्नका निमित्त सहजता गर्नु हो भने स्टोरेजको काम वर्तमान या भविष्यका लागि डाटा स्टोर गर्नु हो ।

यसलाई एउटा पसलको रूपमा पनि तुलना गर्न सकिन्छ । तपाईं यदि एउटा मात्र कोठा अनि एक जना मात्र पसले भएको पसलमा जानुभयो अनि तपाईंसँगै अरू ग्राहक पनि गए भने सेवा पाउनका लागि ग्राहकले प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

एक जना मात्र पसले भएका कारण प्रोसेसिङ ढिला हुन्छ । साथै, एउटा मात्र कोठा भएका कारण तपाईंले सामान हेरेर रोजेर किन्न कठिनाइ हुन्छ, भनेजति सामान उपलब्ध नहुन पनि सक्छ । तर, तपाईं त्यही कामका लागि डिपार्टमेन्टल स्टोर जानुभयो भने त्यहाँ तपाईंले सुरक्षाकर्मीका साथै धेरै जना स्टाफको सेवा लिन सक्नुहुन्छ र तपाईंको सपिङ चाँडो हुन्छ, साथै तपाईंले छानी–छानी, रोजी–रोजी भनेजति सामान किन्न सक्नुहुन्छ । यसमा सेवा दिने पसले वा स्टाफहरूलाई प्रोसेसर अनि डिस्प्ले गर्नका लागि राखिएको स्थानलाई मेमोरी अनि स्टोर-गोदामलाई स्टोरेज अनि सुरक्षाकर्मीलाई सेक्युरिटीका रूपमा बुझ्न सकिन्छ ।
कति छन् नेपालमा डाटा सेन्टर ?

सरकारी स्तरबाट सञ्चालन गरेको सिंहदरबारभित्रको जिआइडिसी (गभर्मेन्ट इन्टिग्रेटेड डाटा सेन्टर) सरकारको एक मात्र डाटा सेन्टर हो । यसको डिजास्टर डाटा सेन्टर हेटौँडामा छ । प्राइभेट रूपमा सञ्चालनमा रहेको भैरहवाको ओम डाटा सेन्टर नेपालको निजी स्तरको पहिलो डाटा सेन्टर हो । अन्य डाटा सेन्टरहरूमा दरबारमार्गको सिल्भर लाइनिङ डाटा सेन्टर, थापाथलीको डाटा हब, कुमारीपाटीको एक्सेस वल्र्ड, थापाथलीको क्लाउड हिमालय, चन्द्रागिरीको हालसालै निर्मित ३.५ मेगावाट तथा ५२० र्‍याक भएको डाटा वल्र्ड, पुतलीसडकको डाटास्पेस, बालुवाटारको सुबिसु आदि रहेका छन् ।

(लेखक, सर्टिफाइड डाटा सेन्टर प्रोफेसनल तथा डाटा सेन्टर कन्सल्टेन्ट हुन् ।)
प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार
https://www.karobardaily.com/news/281960

Contact

Call Me

+977 9803066701 (Primary; WhatsApp/Viber)
+977 9843067142 (In case of Emergency only)

Email Me

hemanta.baral@gmail.com

Address

Kathmandu, NEPAL