समाजमा सामाजिक सञ्जाल तथा इलेक्ट्रोनिक ग्याजेटको प्रभाव

समाजमा सामाजिक सञ्जाल तथा इलेक्ट्रोनिक ग्याजेटको प्रभाव

समाजमा सामाजिक सञ्जाल तथा इलेक्ट्रोनिक ग्याजेटको प्रभाव

इन्टरनेटको प्रयोगले आजको विश्वलाई एउटा सानो कम्प्युटरको बाकसभित्र संकुचित बनाइदिएको छ । हिजोसम्म कुनै व्यापार–व्यवसाय, औषधि–उपचार, सभा–सम्मेलन गर्न एक देशबाट अर्को देशसम्म हजारौँ किलोमिटर पार गरेर जानुपर्ने अवस्थालाई आज एउटा कोठामा बसेर कम्प्युटर र इन्टरनेटको सहयोगले क्षणभरमै सम्भव बनाइदिएको छ । अझ विभिन्न सोसल नेटवर्किङ साइटको विकासक्रमसँगै कुनै पनि साथीभाइ, आफन्तलाई भेट्न तथा तिनीहरूको हालखबर बुझ्न घरै छाडेर भेट्न जानुपर्ने अवस्थाको अन्त्य भएको छ । साथै, कुनै पनि कम्पनी तथा संघसंस्थाका क्रियाकलापहरू घरै बसीबसी नियाल्न तथा बुझ्न सम्भव भएको छ ।

आजको दिनमा तपाईं–हामी जो–कोही पनि कुनै न कुनै सोसल नेटवर्किङ साइटको सदस्य भएका छौँ र २४ घण्टामा कुनै न कुनै समय निकालेर त्यसमा सहभागिता जनाइरहेका हुन्छौँ । अझ आजका युवापिँढीहरू त घण्टा–घण्टाको अन्तरालमा यसमा प्रवेश गरेर स्ट्याटस तथा कमेन्टहरू चेक गरिरहेका हुन्छन् त कतिले आफ्नो फोनमै त्यस्ता साइटलाई लाइभ बनाई हरपल आफूलाई सम्पर्कमा राखेका हुन्छन् । सोसल नेटवर्किङ साइटहरूमा हाल फेसबुक, ट्विटर, लिंक्डइन, माईस्पेस अग्रपंक्तिमा रहेका छन् ।

आजको दिनमा फेसबुकमा ३ अर्ब, युट्युबमा २.५ अर्ब, इन्स्टाग्राममा २ अर्ब, ह्वाट्सएपमा २ अर्ब र टिकटकमा १.६ अर्बको हाराहारीमा सदस्यहरू रहेका छन् । सामाजिक सञ्जालका फाइदा धेरै भए तापनि यसका बेफाइदा पनि छन्, साथै यसको प्रयोगमा धेरै नै सावधान अपनाउनुपर्छ । यसले समाजमा सकारात्मक तथा नकारात्मक दुवै प्रकारका प्रभाव पारेका छन् । यसको प्रभाव विभिन्न व्यक्तिगत, पारिवारिक, सामाजिक र राजनीतिक तहमा देखिन्छन् ।

सकारात्मक प्रभाव
सूचना र ज्ञानको पहुँच: सामाजिक सञ्जालमार्फत संसारभरका जानकारीहरू छिटो र सजिलैसँग प्राप्त गर्न सकिन्छ । ताजा समाचार, अनुसन्धान र शैक्षिक सामग्रीमा सजिलै पहुँच राख्न सकिन्छ ।

सम्पर्क र सम्बन्ध विस्तार: विश्वको कुनै पनि कुनामा रहेका सदस्यहरूसँग सजिलै सम्पर्क स्थापना गर्न सकिन्छ । पुराना साथीभाइसँग पुनः सम्पर्कमा रहन, नयाँ मित्रता गाँस्न र पारिवारिक सम्बन्ध बलियो बनाउन सामाजिक सञ्जाल उपयोगी हुन सक्छ ।

व्यवसाय र उद्यमशीलता प्रवद्र्धन: डिजिटल मार्केटिङ र अनलाइन व्यापारको माध्यमबाट साना व्यवसायसमेत विश्व बजारसम्म पुग्न सक्छन् । आजकाल कुनै पनि विज्ञापन पत्रपत्रिका, रेडियो, टेलिभिजनमा दिनुको सट्टा धेरैभन्दा धेरै सदस्यलाई आफ्नो सञ्जालमा ल्याई यस्ता साइटहरूमार्फत विज्ञापन गर्नु प्रभावकारी मानिन्छ ।

सामाजिक र राजनीतिक सचेतना: सामाजिक न्याय, मानव अधिकार र अन्य महत्वपूर्ण विषयहरूमा सचेतना फैलाउने काममा सामाजिक सञ्जाल प्रभावकारी भएको छ । विभिन्न आन्दोलन तथा अभियानहरू यिनकै माध्यमबाट व्यापक बनेका छन् ।

रोजगार र अवसर: धेरैजसो पेसागत नेटवर्किङ प्लेटफर्महरू (जस्तै— लिंक्डइन, जब साइट आदि) मार्फत रोजगारीका अवसर पत्ता लगाई रोजगारी प्राप्त गर्न सहज हुन्छ ।

समान रुचि भएका व्यक्तिहरूको छुट्टै समूह तथा सञ्जाल: समान रुचि भएका तथा आफ्ना साथीभाइ तथा परिवारका सदस्यहरूलाई मात्र समावेश गरी छुट्टै ग्रुप बनाई सूचना आदानप्रदान गर्न सकिन्छ ।

खर्चको बचत: यस्ता साइटहरूले निःशुल्क रूपमा उपलब्ध गराएका स्पेस तथा सदस्यताका कारण आफ्नो या आफ्नो परिवारका विविध समयका फोटो तथा भिडियोहरू अनलाइन स्टोर गरेर राख्न सकिन्छ र आवश्यकता परेको बेला प्रयोग गर्न सकिन्छ । साथै, भेटघाटका खर्चहरूको बचत हुन्छ ।

नकारात्मक प्रभाव
गोपनीयताको उल्लंघन: व्यक्तिगत जानकारी सजिलै सार्वजनिक हुने भएकाले गोपनीयताको उल्लंघन र साइबर अपराधको जोखिम बढ्न सक्छ । तपाईंले अपलोड गर्नुभएका तपाईंका व्यक्तिगत सूचनाहरूको दुरुपयोग गरी अरूले फाइदा लिइरहेका हुन्छन् । तपाईंले आफ्नो प्रोफाइलमा कुनै इमेल एड्रेस या फोन नं. राख्नुभएको छ भने थर्ड पार्टीले तपाईंको अनुमतिबिना नै तपाईंको इमेल एड्रेस या फोन नं.को प्रयोग गरी इमेल तथा म्यासेज पठाउने गर्छन् । कतिपय कम्पनीले त तपाईंलाई थाहै नदिई तपाईंको फोटोलाई आफ्नो कम्पनीबाट उत्पादित सामग्रीको विज्ञापनमा प्रयोग गरी फाईदा उठाइरहेका हुन्छन् । साथै, तपाईंको फोटो प्रयोग गरी फेक आइडी बनाई तपाईंको नाममा फाइदा उठाइरहेका हुन्छन् ।

डिजिटल लत: अत्यधिक प्रयोगले मानिसलाई मानसिक थकान, एक्लोपन र अनिद्राजस्ता समस्या ल्याउन सक्छ । विशेष गरी किशोर–किशोरीहरूमा यसको असर बढी देखिन्छ ।

सामाजिक तुलना र मानसिक स्वास्थ्य: अरूको जीवनसँग तुलना गर्दा असन्तुष्टि, न्यून आत्मसम्मान र डिप्रेसनजस्ता मानसिक समस्या देखा पर्न सक्छन् ।

साइबर दादागिरी र अनलाइन दुव्र्यवहार: ट्रोलिङ, साइबर बुलिङ र अनलाइन उत्पीडनका घटना दिनहुँ बढिरहेका पाइन्छन्, जसले विशेष गरी युवाहरूमा नकारात्मक असर पुर्‍याउँछन् ।

नैराश्यता: आफ्ना साथीभाइ तथा आफन्तहरूले आफू विभिन्न ठाउँ घुम्न, रेस्टुरेन्ट, डिस्को, पिकनिक, पार्टी आदि ठाउँहरूमा गएका फोटोहरू अपलोड गरेको देख्दा र आफूलाई त्यसको बराबरीमा नपाउँदा नैराश्यताले गाँजेको हुन्छ । साथै, आफूले अपलोड गरेका स्ट्याटस, फोटो तथा भिडियोमा कति लाइक तथा कमेन्टहरू आए ? अरू साथीको स्ट्याटस र फोटोमा बढी लाइक र कमेन्ट आउने, आफ्नोमा चैँ किन कमी भन्ने मनोवैज्ञानिक असर परेको हुन सक्छ ।

समयको नोक्सानी: हालै गरिएको सर्वेक्षणअनुसार यस्ता साइटका प्रयोगकर्ताले औसत रूपमा एक जनाले हप्ताको १४ देखि १५ घण्टा (दैनिक औसतमा २ घण्टा २३ मिनट) बिताउने गर्छन् । अझ ३० प्रतिशत रेगुलर प्रयोगकर्ताले त दिनकै कम्तीमा ४ देखि ५ घण्टाको दरले समय नष्ट गरिरहेका हुन्छन् । अब आफैँ हिसाब गर्नुहोस्, हाम्रो जस्तो विकासोन्मुख देशका लागि उक्त समय कति महत्वपूर्ण साबित हुन्थ्यो होला !

अनावश्यक विज्ञापनको सिकार: यस्ता साइटले विभिन्न विज्ञापनहरू आफ्नो पेजमा बिनाअनुमति राखिदिने गर्छन् । कुनै–कुनै विज्ञापन त हाम्रो सामाजिक धरातलभन्दा माथि उठेर बनाइएका हुन्छन्, यसले नकारात्मक असर पार्नुका साथै आफ्नो पेजमा भएका कारण अनावश्यक दिमागी बोझ थोपरिरहेका हुन्छन् ।

गलत समाचारको सिकार: यस्ता साइटहरूमा कुनै पनि सूचना अनलाइन पोस्ट गरिने हुँदा त्यसको वैधानिकता हुँदैन, तर तिनै सूचनाको आधारमा कुनै पनि समाचार आगो फैलिएजस्तो फैलिएका हुन्छन् । यसका अतिरिक्त कसैले गरेका अपलोडहरूमा कमेन्ट गर्दा आफू उक्त व्यक्तिको सामुन्ने नभई गरिने हुँदा उक्त आफूले गरेको कमेन्टले नकारात्मक असर पार्न सक्छ र यसको फलस्वरूप उसले तपाईंलाई ब्लक या अनफ्रेन्ड गर्न सक्छ ।

यदि उक्त कुरा तपाईंलाई थाहा भयो भने दुई जनाको बीच टकराव उत्पन्न हुन जान्छ । साथै, तपाईंका गोप्य फोटोहरू अरू कसैले अपलोड गरेको अवस्थामा तपाईं र तपाईंको परिवारबीच फाटो आउन सक्छ । यसका अतिरिक्त परिवारका सबै सदस्य अनलाइनमा व्यस्त हुँदा खाना कति बेला चिसो भएको हुन्छ, कसैलाई पत्तो हुँदैन अनि जो अनलाइन हुँदैन उसलाई कस्तो अनुभव हुन्छ होला ? तसर्थ कुनै पनि कुरा लिमिटमा गरेको राम्रो हुन्छ । सोसल नेटवर्किङ साइट केका लागि बनाइएको हो र कति समय खर्च गर्दा उचित हुन्छ भन्ने कुरा स्वयं तपाईंले निर्धारण गर्ने कुरा हो ।

तसर्थ, सामाजिक सञ्जालको प्रयोग सन्तुलित र जिम्मेवार तरिकाले गर्न सकेमा यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । तर, यसको दुरुपयोग वा अत्यधिक निर्भरता हुनुले भने व्यक्तिको मानसिक स्वास्थ्यदेखि समाजको समग्र स्वरूपमा समेत नकारात्मक असर पार्न सक्छ । तसर्थ, सचेत रहँदै यसको उपयोग गर्नु महत्वपूर्ण हुन्छ ।

इलेक्ट्रोनिक ग्याजेटको प्रभाव
आजको डिजिटल युगमा इलेक्ट्रोनिक ग्याजेटहरू जस्तै— मोबाइल फोन, ट्याबलेट, ल्यापटप, टेलिभिजन र भिडियो गेम तथा सामाजिक सञ्जालहरू जस्तै— फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, भाइबर आदि हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेका छन् । यिनीहरूबाट बालबालिका, परिवार र समाजमा सकारात्मक तथा नकारात्मक दुवै प्रकारका प्रभाव देखा परिरहेका छन् ।

सकारात्मक प्रभाव
शिक्षामा सहयोग: अनलाइन स्रोतबाट बालबालिकाले सजिलै नयाँ ज्ञान सिक्न सक्छन् । डिजिटल लर्निङ एप्स, युट्युब आदिमा प्राप्त हुने शैक्षिक सामग्रीहरूले सिकाइलाई अझ रोचक तथा प्रभावकारी बनाउँछन् ।

मनोरञ्जनको स्रोत: बालबालिका तथा परिवारका सदस्यहरू चलचित्र, संगीत, वृत्तचित्र, लाइभ शो, खेल आदिबाट मनोरञ्जन लिन सक्छन् ।

रचनात्मकता र सीप विकास: विभिन्न विषयका डिजाइन, कोडिङ, भिडियो एडिटिङ, संगीत निर्माणजस्ता सीपहरू ग्याजेटको माध्यमबाट बालबालिकाले सिक्न सक्छन् ।

सञ्चारमा सहजता: परिवारका टाढा रहेका सदस्यहरूसँग सम्पर्क राख्न सजिलो हुन्छ, जसले सम्बन्ध बलियो बनाउँछ ।

नकारात्मक प्रभाव
स्वास्थ्यमा असर: लामो समयसम्म स्क्रिन हेरिरहनु आँखाको समस्या, निद्राको गडबडी, मोटोपन तथा मानसिक तनावको कारण बन्न सक्छ ।

शारीरिक व्यायामको कमीले कमजोरी, मन्द बुद्धि, अनिद्रा: यस्ता साइटको प्रयोगले खेल्ने कुद्ने समयका बच्चाहरू बाहिर खेल्न र कुद्नभन्दा कोठामै बस्न रुचाउँछन् र यसको फलस्वरूप शारीरिक व्यायामको कमीले बुद्धि विकासमा समेत बाधा पुर्‍याउँछ ।

सामाजिक सम्बन्धमा असर: बालबालिका मोबाइल वा भिडियो गेममा व्यस्त रहँदा जति बेलै पनि कोठामा सीमित हुने हुँदा घरमा को आयो, गयो त्यसको कुनै मतलब हुँदैन र कुनै सामाजिक कार्यमा कुनै रुचि राख्दैनन् । उनीहरूलाई आफ्नो कम्प्युटर, इन्टरनेट र त्यस्ता सामाजिक सञ्जालहरू नै आफ्नो परिवार लाग्छ । परिवारका सदस्य तथा समाजका अन्य सदस्यसँगको सामीप्यता तथा संवाद कम हुन्छ, जसले बालबालिकालाई सामाजिक हुनबाट वञ्चित गराउँछ र आपसी सम्बन्ध कमजोर हुन सक्छ ।

अध्ययनमा प्रभाव: अत्यधिक ग्याजेट प्रयोगले ध्यान केन्द्रित गर्न गाह्रो पार्छ, जसले पढाइमा नकारात्मक असर पार्न सक्छ ।

निर्णय तथा तार्किक क्षमतामा कमी: बाहिरी संसारमा घुलमिल एकदमै कम भएका कारण मानिस एकोहोरो भएको हुन्छ, जसका कारण कुनै पनि निर्णय लिन अरूको सहयोग खोज्छ, साथै तार्किक क्षमताको ह्रास हुन्छ ।

लत लाग्ने सम्भावना: सामाजिक सञ्जाल, गेमिङ तथा भिडियो स्ट्रिमिङको लतले बालबालिकालाई वास्तविक जीवनबाट टाढा लगी लत लगाउने सम्भावना प्रबल रहन्छ ।

असुरक्षित इन्टरनेट प्रयोग: गलत सामग्री हेर्ने वा साइबर बुलिङको सिकार हुने जोखिम धेरै रहन्छ ।

वादविवाद तथा सभा–सम्मेलनमा अरुचि: जब मानिस समाज तथा परिवारमा घुलमिल हुन कम गर्छ, यसले मानिसलाई एकलकाँटे बनाइदिन्छ । उनीहरू कसैसँग कुनै विवाद गर्न चाहँदैनन् र कुनै सभा–सम्मेलनमा भाग लिन मन पराउँदैनन् । यस्ता साइटमा आफूलाई मन नपर्ने मानिसलाई सजिलै अनफ्रेन्ड तथा अनफलो गर्ने सजिलो माध्यम उपलब्ध भएको हुँदा कुनै पनि विषयमा कोहीसँग बहस गर्न रुचाउँदैनन्, बरु मन परेन कि अनफ्रेन्ड तथा अनफलो गर्दियो, बस् ।

समाधान तथा सन्तुलित प्रयोग
समय सीमा निर्धारण: बच्चाहरूले दैनिक कति समय ग्याजेट प्रयोग गर्ने भन्ने समय सीमित गर्नु अति आवश्यक छ ।

पारिवारिक समय: परिवारसँग खेल खेल्ने, घुम्न जाने, कुराकानी गर्नेजस्ता क्रियाकलापमा जोड दिनुपर्छ ।

शिक्षात्मक सामग्री छनोट: बालबालिकालाई सकारात्मक डिजिटल सामग्री हेर्न प्रेरित गर्नुपर्छ र सोको छनोट गर्न सिकाउनुपर्छ ।

अफलाइन गतिविधितर्फ प्रोत्साहन गर्नु: पुस्तक पढ्ने, खेल खेल्ने, सिर्जनात्मक कार्य गर्न उत्प्रेरित गर्नुपर्छ ।

इन्टरनेट सुरक्षा: बालबालिकाका लागि इन्टरनेटको सुरक्षित प्रयोग सुनिश्चित गर्न अभिभावकहरूले निगरानी गर्नुपर्छ ।

अन्त्यमा, इलेक्ट्रोनिक ग्याजेटहरू आवश्यक छन्, तर यसको प्रयोग सन्तुलित हुनुपर्छ । अभिभावक र परिवारका सदस्यहरूले सचेत भएर डिजिटल प्रविधिको सही प्रयोग गराउने हो भने यसले नकारात्मक प्रभाव कम गरी सकारात्मक प्रभाव बढाउन सकिन्छ । https://www.karobardaily.com/news/279703

हेमन्त बराल

(लेखक, बेलायतबाट कम्प्युटर नेटवर्क विषयमा मास्टर्स गरी नेपाल पुलिसलगायत विभिन्न शिक्षा क्षेत्रमा साइबर सेक्युरिटी विषयका तालिमकर्ता हुन् ।) प्रकाशित मिति : फाल्गुन १, २०८१ बिहीबार

Contact

Call Me

+977 9803066701 (Primary; WhatsApp/Viber)
+977 9843067142 (In case of Emergency only)

Email Me

hemanta.baral@gmail.com

Address

Kathmandu, NEPAL