सावधान ! बिजुलीले तान्ला
सावधान ! बिजुलीले तान्ला
सावधान ! बिजुलीले तान्ला
हामी सबैले आफ्नो जीवनकालको कुनै न कुनै समयखण्डमा बिजुलीको सानो या ठूलो झट्का महसुस गरेका हुन सक्छौँ । यसरी बिजुलीको झट्का लाग्ने हामीमध्ये कसैले मलाई त आज बिजुलीले फाल्यो नि भनिरहेका हुन्छौँ भने कसैले मलाई त आज बिजुलीले तान्यो नि भनिरहेका हुन्छौँ । करेन्ट लागेर मृत्यु हुने गरेका समाचार पनि हामीले बारम्बार सुन्दै आएका छौँ ।
के साँच्चिकै बिजुली तान्ने र फाल्ने किसिमको हुन्छ त ?
करेन्ट लाग्दा मानव शरीरले देखाउने प्रतिक्रिया, करेन्टको मात्रा (म्याग्निच्युड), बिजुलीको प्रकार (एसी या डिसी) र बिजुली सम्पर्कको समयावधिमा निर्भर हुन्छ । करेन्टको परिमाण एम्पियरमा मापन गरिन्छ र मानवीय प्रतिक्रिया सामान्यतया मिलि–एम्पियरमा देखिन्छ ।
करेन्टले कसैलाई तान्ने वा फाल्ने कुरामा करेन्टको प्रकार, परिमाण, शरीरको अवस्था र मांसपेशीको प्रतिक्रियाले मुख्य भूमिका खेल्छन् । करेन्ट लाग्दा कसैलाई तान्ने र कसैलाई फाल्ने अनुभव हुनुका पछाडि विज्ञान र शरीरको प्रतिक्रिया प्रणालीले कार्य गरेको हुन्छ । यसका केही मुख्य कारण यस्ता छन्ः
१. विद्युत प्रवाह र मांसपेशीको प्रतिक्रिया
तान्ने (गाँठिने) स्थिति: जब करेन्ट शरीरमा पस्छ, यसले हाम्रो मांसपेशीलाई आकस्मिक रूपमा संकुचित गर्छ । यदि करेन्ट हातको मांसपेशीमा लाग्छ भने हातका औँला गाँठिने सम्भावना बढी हुन्छ । यसले तार वा बिजुली स्रोतबाट छुट्टिन कठिन बनाउँछ र यस्तो अवस्थामा मान्छे तानिएको जस्तो अनुभव गर्छ । विशेष गरी एसी या अल्टरनेटिङ करेन्टले मांसपेशीलाई बारम्बार संकुचित गराउँछ, जसले छुट्टिन गाह्रो बनाउँछ ।
फाल्ने (छुटाउने) स्थिति: कहिलेकाहीँ करेन्टले मांसपेशीलाई हल्का रूपमा संकुचित गर्छ र स्वयंले प्राकृतिक प्रतिक्रियास्वरूप झट्का दिँदै स्रोतबाट हात या आफूलाई अलग्याउने हुन्छ । साथै, डिसी या डाइरेक्ट करेन्टले एकै दिशामा बल दिइरहन्छ, जसले झट्कासँगै मान्छेलाई फाल्न सक्छ ।
२. करेन्टको परिमाण र भोल्टेज
कम करेन्ट: कम करेन्टले हल्का झट्का दिन सक्छ र व्यक्ति होस अवस्थामा नै भई आफैँले शरीरलाई स्रोतबाट छुटाउँछन् र फालेको महसुस गर्छन् ।
धेरै करेन्ट: धेरै करेन्ट (विशेष गरी उच्च भोल्टेज) ले शरीरलाई अचेत अवस्थामा पुर्याउँछ र स्रोतमै टाँसिरहन सक्छ, जसलाई हामी तानेको संज्ञा दिन्छौँ ।
३. करेन्टको मार्ग
करेन्टले शरीरमा कता बाटो लिन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।
यदि करेन्ट हात हुँदै मुटु वा हात हुँदै खुट्टा जान्छ भने मांसपेशीहरू गाँठिन सक्छन् ।
यदि करेन्ट छाती वा पिठ्युँबाट जान्छ भने शरीरलाई पछाडि फाल्न सक्छ ।
४. शरीरको अवस्था र भिजाइ
भिजेको छाला: छाला भिजेको भए करेन्ट सजिलै बग्छ र गाँठिने सम्भावना बढी हुन्छ ।
सुक्खा छाला: सुक्खा छालाले प्रतिरोध दिन्छ, जसले गर्दा हल्का झट्कासँगै फाल्ने सम्भावना हुन्छ ।
विभिन्न करेन्टका स्तर र तिनीहरूको असर
यदि कसैलाई,
१. १ मिलि–एम्पियरभन्दा कमको करेन्ट लागेको छ भने सामान्यतया केही महसुस नै हुँदैन ।
२. १–५ मिलि–एम्पियरको करेन्ट लागेको अवस्थामा हल्का झट्का महसुस हुन्छ । सामान्यतया यो हानिरहित हुन्छ, तर संवेदनशील व्यक्तिले डर महसुस गर्न सक्छन् ।
३. ५–१० मिलि–एम्पियरको करेन्ट लागेको अवस्थामा अधिकांश व्यक्तिले झट्का महसुस गरी आफूलाई करेन्ट लागेको बुझी आफूलाई करेन्टको स्रोतबाट अलग्याउँछन् । यसै अवस्थालाई बिजुलीले फालेको भनी बुझ्ने गरिन्छ । यो अवस्थामा पीडा महसुस हुन्छ र मांसपेशी टाइट हुन सक्छन् ।
४. १०–२० मिलि–एम्पियरको करेन्ट लागेको अवस्थामा मांसपेशी कडा रूपले गाँठिन्छन्, करेन्ट स्रोत छोड्न सक्दैन र त्यहीँ टाँसिरहन सक्छन् । यदि यो अवस्था लामो समयसम्म रहिरह्यो र कसैले या आफैँले कुनै तरिकाले त्यस अवस्थाबाट बाहिर ल्याउन नसकेको अवस्थामा भने गम्भीर चोटको सामना गर्नुपर्ने हुन सक्छ ।
५. २०–५० मिलि–एम्पियरको करेन्ट लागेको अवस्थामा मांसपेशीहरू अत्यधिक संकुचित हुन्छन्, तीव्र पीडा हुन्छ र छोड्न असम्भव हुन्छ । सास फेर्न गाह्रो हुन्छ, हृदयसम्बन्धी समस्या देखा पर्न सक्छन् ।
६. ५०–१०० मिलि–एम्पियरको करेन्ट लागेको अवस्थामा हृदय गम्भीर रूपमा घायल हुन्छ, मुटुको धड्कन असमान्य हुन्छ, जसले गर्दा व्यक्ति तुरुन्तै बेहोस हुन्छ र समयमा उपचार नगरे मृत्यु हुन सक्छ । यही १० मिलि–एम्पियरभन्दा माथिको करेन्ट लागेको अवस्थालाई हामीले बिजुलीले तानेको भनेर बुझेका हुन्छौँ ।
७. १००–२०० मिलि–एम्पियरको करेन्ट लागेमा गम्भीर मुटुमा समस्या र अंगहरू काम नगर्न सक्ने अवस्थामा पुग्न सक्छन् भने यो अत्यधिक जोखिमको अवस्था हुनुका साथै तुरुन्तै चिकित्सकीय सहायता आवश्यक पर्छ ।
८. यदि २ सय मिलि–एम्पियरभन्दा माथिको करेन्ट लागेको अवस्थामा भने शरीरको टिस्यु जल्न सुरु गर्छन् र हड्डीसमेत तातिन थाल्छ । यो अवस्थामा हृदय रेस्पिरेटरी अरेस्ट हुन सक्छ र तुरुन्त मृत्युको सम्भावना अत्यधिक हुन्छ ।
त्यसैले सानो करेन्ट पनि खतरनाक हुन सक्छ र बिजुलीको काम गर्दा अत्यन्तै सावधानी अपनाउनु आवश्यक हुन्छ । सुरक्षात्मक उपकरण (जस्तै— इन्सुलेटेड ग्लोभ्स, रबर म्याट) प्रयोग गर्नु महत्वपूर्ण हुन्छ ।
करेन्ट लाग्नबाट बच्न के गर्ने ?
करेन्ट लाग्नबाट बच्नका लागि सुरक्षात्मक उपायहरू अपनाउनु अत्यन्त आवश्यक छ । यहाँ केही महत्वपूर्ण उपाय उल्लेख गरिएको छ:
१. उचित सुरक्षा उपकरण प्रयोग गर्ने
इन्सुलेटेड ग्लोब्स: बिजुलीको काम गर्दा इन्सुलेसनयुक्त (रबर वा नन–कन्डक्टिभ) ग्लोभ्स प्रयोग गर्नुहोस्, जसले करेन्ट बग्न दिँदैन ।
रबरको जुत्ता वा म्याट: रबर विद्युत् नबग्ने सामग्री भएकाले रबरको जुत्ता लगाउनुहोस् र रबर म्याटमा उभिएर काम गर्नुहोस् ।
सुरक्षा उपकरण: बिजुलीको कामका लागि विशेष इन्सुलेटेड ह्यान्डल भएका उपकरण (जस्तै— स्क्रू ड्राइभर, प्लास) प्रयोग गर्नुहोस् ।
२. बिजुली उपकरण जाँच र मर्मत
तारहरूको अवस्था जाँच गर्ने: नाङ्गो तार वा टुटेको वायर देखिएमा तुरुन्त मर्मत गर्नुहोस् । इन्सुलेसन फुटेको या च्यातिएको तारबाट करेन्ट लाग्न सक्छ ।
अर्थिङ सुनिश्चित गर्ने: घर वा कार्यस्थलमा सही अर्थिङ प्रणाली लागू गरिएको छ कि छैन, जाँच गर्नुहोस् । यो प्रणालीले अतिरिक्त करेन्टलाई जमिनतर्फ लैजान्छ ।
सर्किट ब्रेकर प्रयोग गर्ने: आरसिडी या एमसिबीजस्ता सुरक्षित उपकरण जडान गर्दा करेन्ट चुहावट भएमा स्वतः विद्युत् आपूर्ति बन्द हुन्छ ।
३. बिजुलीको उपकरण प्रयोग गर्दा सावधानी
भिजेको हातले नछुने: हात भिजेको अवस्थामा बिजुली उपकरण नछुनुहोस्, किनकि पानीले करेन्ट सजिलै बगाउँछ ।
भिजेका सतहबाट टाढा रहनुहोस्: भिजेको भुइँमा उभिएर बिजुली उपकरण नचलाउनुहोस् ।
स्विच अफ गरेर काम गर्नुहोस्: बिजुली उपकरण मर्मत वा जाँच गर्दा मुख्य स्विच बन्द गर्नुहोस् र उपकरणलाई पावर स्रोतबाट पूर्ण रूपमा डिस्कनेक्ट गर्नुहोस् ।
४. उचित प्रशिक्षण र ज्ञान
बिजुलीका बारेमा आधारभूत ज्ञान: करेन्टका जोखिम र सुरक्षित काम गर्ने तरिकाको जानकारी राख्नुहोस् ।
प्रशिक्षित प्राविधिकलाई काम दिनुहोस्: यदि तपाईंलाई बिजुलीको काममा अनुभव छैन भने सधौ प्रशिक्षित इलेक्ट्रिसियनलाई मात्र काम गर्न दिनुहोस् ।
५. आपत्कालीन स्थिति र तयारी
पहिलो सहायता (फस्र्ट एड) को तालिम लिने: करेन्ट लाग्दा कसरी प्रतिक्रिया दिने भन्नेबारे सिपिआर र प्राथमिक उपचारको जानकारी राख्नुहोस् ।
आपत्कालीन नम्बरहरू तयारीमा राख्ने: नजिकको अस्पताल वा आपत्कालीन सेवाको सम्पर्क नम्बर सजिलै उपलब्ध गराउनुहोस् ।
विशेष सावधानी
उच्च भोल्टेज क्षेत्रमा प्रवेश नगर्ने: उच्च भोल्टेजका उपकरण वा ठाउँहरूमा अनधिकृत रूपमा नजाने ।
बच्चाहरूलाई टाढा राख्ने: बिजुली उपकरण र नाङ्गा तार बच्चाहरूको पहुँचबाट बाहिर राख्नुहोस् ।
करेन्ट लाग्नबाट बच्नका लागि सावधानीपूर्वक सुरक्षा उपायहरू अपनाउनु जरुरी छ । सधैँ इन्सुलेटेड उपकरण प्रयोग गर्नुहोस्, भिजेको अवस्थामा बिजुलीबाट टाढा रहनुहोस् र आपत्कालीन स्थितिमा उचित प्रतिक्रिया दिन जान्नुहोस् । यस्ता उपायहरूले दुर्घटनाबाट जोगिन सहयोग पुर्याउँछ ।
करेन्ट लागेमा के गर्ने ?
करेन्ट लागेमा तुरुन्त सही कदम चाल्नु अत्यन्तै महत्वपूर्ण हुन्छ, किनकि समयमै गरिएको सहायताले जीवन बचाउन सक्छ । करेन्ट लागेपछि अपनाउनुपर्ने उपायहरू यस प्रकार छन्—
१. आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्
कसरी करेन्ट लागेको हो, पहिला हेर्नुहोस्: यदि कोही करेन्टको सम्पर्कमा छन् भने तुरुन्तै उनीहरूलाई छुनु हुँदैन, किनकि करेन्ट तपाईंमा पनि सर्न सक्छ ।
मुख्य पावर सप्लाई बन्द गर्नुहोस्: यदि सम्भव भएमा मुख्य स्विच वा सर्किट ब्रेकर बन्द गरेर करेन्ट आपूर्ति रोक्नुहोस् ।
इन्सुलेटेड सामग्री प्रयोग गर्नुहोस्: यदि स्विच बन्द गर्न सकिन्न भने सुक्खा काठको लठ्ठी, रबर वा प्लास्टिकजस्ता करेन्ट नबग्ने वस्तुको प्रयोग गरेर पीडितलाई करेन्ट स्रोतबाट अलग गर्नुहोस् ।
२. पीडितलाई जाँच गर्नुहोस्
सास र नाडी जाँच्नुहोस्: पीडित सास फेर्दैछन् कि छैनन् र नाडी चलेको छ कि छैन, हेर्नुहोस् ।
– सास फेरेको छैन भने तुरुन्त सिपिआर सुरु गर्नुहोस् ।
– नाडी छैन भने छातीमा प्रेस दिनुहोस् र माउथ–टु–माउथ सास फेर्न सहयोग गर्नुहोस् ।
अचेत भए-नभएको जाँच गर्नुहोस्: यदि पीडित अचेत भए उनीहरूलाई सुरक्षित, खुला ठाउँमा सुताउनुहोस् र सास फेर्ने बाटो खुला राख्नुहोस् ।
३. आपत्कालीन सेवामा सम्पर्क गर्नुहोस्
एम्बुलेन्स बोलाउनुहोस्: तुरुन्तै १०२ वा स्थानअनुसारको आपत्कालीन नम्बरमा फोन गर्नुहोस् ।
तुरुन्त नजिकको स्वास्थ्य संस्था लिएर जानुहोस्: करेन्ट लागेको व्यक्ति सामान्य देखिए पनि शरीरभित्र गम्भीर चोट हुन सक्छ । चिकित्सकको जाँच आवश्यक हुन्छ ।
४. घाउ वा जलन भएको छ भने, जलन भएको भागलाई ठन्डा पानीमा राख्नुहोस् (तर बरफ नलगाउनुहोस्) । चिल्लो पदार्थ (जस्तै— घ्यू, तेल) नलगाउनुहोस् । जलनको स्थानमा सफा कपडा राखेर ढाक्नुहोस् ।
करेन्टले भित्री अंगहरू (जस्तै— मुटु, नसा) मा असर पुर्याउन सक्छ, त्यसैले चिकित्सकीय परीक्षण आवश्यक छ ।
५. पीडितलाई थकित वा एक्लो नछोड्नुहोस्
पीडितलाई सहयोग गर्दै शान्त राख्नुहोस् ।
उनीहरूलाई सास फेर्न सहज हुने गरी राख्नुहोस् र बेहोस भएमा सिधा बायाँपट्टि पल्टाउनुहोस् ।
अन्त्यमा, करेन्ट लागेपछि सुरक्षा प्राथमिकता दिनुहोस्, मुख्य स्विच बन्द गर्नुहोस्, पीडितलाई तुरुन्त करेन्ट स्रोतबाट अलग गर्नुहोस् र आवश्यक परेमा सिपिआर सुरु गर्दै नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुहोस् । तपाईंले छोटो समयमा चालेको सही कदमले कसैको जीवन बचाउन सक्छ ।
हेमन्त बराल
(लेखक व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी इलेक्ट्रिकल विषयका तालिमकर्ता हुन् ।) https://www.karobardaily.com/news/279392
प्रकाशित मिति : माघ २८, २०८१ सोमबार
Related Post



Contact
Call Me
+977 9803066701 (Primary; WhatsApp/Viber)+977 9843067142 (In case of Emergency only)