सूचना प्रविधिदेखि कृत्रिम बुद्धिमत्तासम्म -हेमन्त बराल

सूचना प्रविधिदेखि कृत्रिम बुद्धिमत्तासम्म -हेमन्त बराल

सूचना प्रविधिदेखि कृत्रिम बुद्धिमत्तासम्म -हेमन्त बराल

बिजुलीको विकाससँगै अन (१) र अफ (०) को सिद्धान्तमा आधारित कम्प्युटर प्रोग्रामिङ भाषाको परिचयका साथ सूचना प्रविधिको विकास सुरु भयो । पछि, १९८० को दशकमा नेटवर्किङ र इन्टरनेटको सुरुवात र वृद्धिसँगै सूचना प्रविधिमा सञ्चारको समावेश भयो, जसले सूचना तथा सञ्चार प्रविधिको विकास गर्‍यो । आज विभिन्न सेन्सर, यन्त्र, एप्लिकेसन, गेटवे र इन्टरनेटको एकीकरणले इन्टरनेट अफ थिङ्स (आइओटी) र इन्टरनेट अफ एभ्रिथिङ (आइओई) को तीव्र विकास भयो । साथै, यो विकसित प्रविधि अब कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को युगमा प्रवेश गरिसकेको छ । अब, प्रविधि कसरी यो बिन्दुसम्म आइपुग्यो भनेर जानौँ ।

सूचना प्रविधिको विकास
सूचना प्रविधिको विकास वर्षौंको अनुसन्धान र नवीनताको परिणाम हो । यसले हामीले दैनिक जीवनमा गर्ने कार्य, व्यापार सञ्चालन, शिक्षा र सञ्चार गर्ने तरिकालाई रूपान्तरण गरेको छ । सूचना तथा सञ्चार प्रविधिको इतिहास र प्रमुख उपलब्धिहरू निम्नानुसार छन्ः

१. प्रारम्भिक चरण
लिखित सञ्चार: मानव इतिहासमा पहिलो पटक सूचनाको आदानप्रदान लिखित भाषा-लिपिमार्फत भयो, जसले ज्ञानको अभिलेखन र साझेदारीलाई सम्भव बनायो ।
मुद्रण यन्त्र (१५ औँ शताब्दी): योहान्स गुटेनबर्गद्वारा आविष्कार गरिएको मुद्रण यन्त्रले सूचनाको प्रसारमा क्रान्ति ल्यायो ।

२. दोस्रो औद्योगिक क्रान्ति
टेलिग्राफ (१८३० को दशक): सामुएल मोर्सद्वारा आविष्कृत टेलिग्राफ र मोर्स कोडले टाढाको सञ्चारलाई सम्भव बनायो ।
टेलिफोन (१८७६): अलेक्जेन्डर ग्राहमबेलद्वारा आविष्कृत टेलिफोनले प्रत्यक्ष आवाज सञ्चारलाई सहज बनायो ।

३. २० औँ शताब्दीको प्रारम्भ
रेडियो र टेलिभिजन (१९२०): रेडियो प्रसारणले सामूहिक सञ्चार सम्भव बनायो, पछि टेलिभिजनले दृश्य सञ्चारको थालनी गर्‍यो ।
कम्प्युटरको विकास (१९४०): आधुनिक कम्प्युटिङको जग बसाल्ने प्रारम्भिक कम्प्युटरहरू निर्माण भए ।

४. आधुनिक सूचना प्रविधि (२० औँ शताब्दीको मध्यदेखि उत्तराद्र्धसम्म)
इन्टरनेटको विकास (१९६०): आर्पानेटको स्थापना भयो, जसले पछि इन्टरनेटको रूपमा विश्वव्यापी पहुँच बनायो ।
व्यक्तिगत कम्प्युटर (१९७० र ८० को दशक): घर तथा अफिसमा कम्प्युटरहरू प्रचलित हुन थाले ।
स्मार्टफोन र मोबाइल इन्टरनेट (२०००): स्मार्टफोनले कम्प्युटिङ, इन्टरनेट र सञ्चारलाई एकीकृत गर्‍यो ।

५. हालको र भविष्यका विकासक्रम (२१ औँ शताब्दी)
क्लाउड कम्प्युटिङ: टाढैबाट डेटा भण्डारण र प्रशोधन गर्न सम्भव बनायो ।
कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स): स्वचालित मेसिन, च्याटबोट र रोबोटिक्सको विकास भयो ।
फाइभ जी र उच्च गतिको नेटवर्क: स्मार्ट सिटी, इन्टरनेट अफ थिंग्स र स्वचालित यन्त्रलाई अझ प्रभावकारी बनायो ।
ब्लकचेन र साइबर सुरक्षा: डेटा गोपनीयता, सुरक्षा र विश्वसनीयता सुधार गर्‍यो ।

सूचना तथा सञ्चार प्रविधिको प्रभाव
सूचनामा पहुँच: इन्टरनेट र स्मार्ट उपकरणहरूले छिटो जानकारी प्राप्त गर्न सहयोग पुर्‍याएको छ ।
सञ्चार र समाज: मानिसहरू जुनसुकै समयमा, जुनसुकै ठाउँबाट सीधा कुराकानी गर्न सक्षम भएका छन् ।
व्यवसाय र अर्थतन्त्र: ई–कमर्स तथा स्वचालनले व्यापारलाई प्रभावकारी बनाएको छ ।
शिक्षा र अनुसन्धान: अनलाइन शिक्षा र डिजिटल सिकाइले शिक्षामा रूपान्तरण ल्याएको छ ।
सामाजिक र सांस्कृतिक परिवर्तन: सामाजिक सञ्जाल र ब्लगिङले मानवीय अन्तत्र्रिmयामा परिवर्तन गरेको छ ।

कृत्रिम बुद्धिमत्ता के हो ?
कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) ले कम्प्युटर वा मेसिनलाई मानवजस्तै सोच्न, निर्णय लिन, समस्या समाधान गर्न र स्वचालित रूपमा काम गर्न सक्षम बनाउने प्रविधिलाई जनाउँछ । एआई प्रणाली सामान्यतः मानव बुद्धिमत्तालाई आवश्यक पर्ने कार्य गर्न सक्षम हुन्छन् ।

एआईका प्रमुख तत्व
मेसिन लर्निङ: कम्प्युटरलाई डेटा र कमान्ड दिएर भविष्यवाणी गर्न सक्षम बनाउँछ ।
डिप लर्निङ: जटिल डेटा जस्तै— इमेज, आवाज र कन्टेन्ट विश्लेषण गर्न न्युरल नेटवर्कको प्रयोग गर्छ । न्युरल नेटवर्कले मानव मस्तिष्कको संरचना र काम गर्ने तरिकालाई नक्कल गरेर कम्प्युटरलाई डेटा दिई निर्णय लिने कार्य बुझिन्छ ।
निर्णय क्षमता: डेटामा आधारित निर्णय लिन र समस्या समाधान गर्न सक्षम हुन्छ ।
नेचुरल ल्याङ्वेज प्रोसेसिङ: कम्प्युटरलाई मानव भाषा बुझ्न र कुराकानी गर्न सक्षम बनाउँछ (उदाहरणका लागि च्याटबोट, सिरी, एलेक्सा आदि) ।
रोबोटिक्स: एआईमा आधारित रोबोटले स्वचालित रूपमा कार्य गर्न सक्छन् ।

कृत्रिम बुद्धिमत्ताका अनुप्रयोग
स्वचालित सवारी साधन: एआईले स्वचालित कार र ड्रोनहरूलाई नियन्त्रण गर्छ ।
स्वास्थ्य सेवा: एआईले चिकित्सामा आधारित रोगहरूको निदान, औषधि खोजी र बिरामीको डेटा विश्लेषण गरी सहयोग गर्छ ।
ग्राहक सेवा: च्याटबोट र आवाज सहायकहरूले सेवाग्राहीलाई छिटो समाधान दिन्छन् ।
वित्तीय सेवा: एआईले बजार विश्लेषण, ऋण मूल्यांकन र जोखिम मूल्यांकनमा सहयोग गर्छ ।
सामाजिक सञ्जाल: एआईले आफूले इच्छाइएको सामग्री सिफारिस र विज्ञापनलाई आफूअनुकूल बनाउँछ ।

कृत्रिम बुद्धिमत्ताका प्रकार
संकुचित एआई: विशेष कार्य गर्न सक्षम तर सामान्य बुद्धिमत्ता हुँदैन, जस्तै: च्याटबोट, अनुहार पहिचान आदि ।
मजबुत एआई: मानवजस्तो बुद्धिमत्ता हुन्छ र बहुप्रकारका कार्य गर्न सक्षम हुन्छ (अझै विकास क्रममा रहेको छ) ।
सुपरइन्टेलिजेन्ट एआई: भविष्यको अवधारणा हो, जसमा एआई, मानवभन्दा माथि रहनेछ ।
आर्टिफिसियल इन्टेलिजेन्सले कस्ता किसिमका कार्य गर्न सक्छन् ?
आर्टिफिसियल इन्टेलिजेन्स आजको समय र भविष्यमा विभिन्न क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्षम हुनेछ । यसले हाम्रो काम गर्ने तरिका, जीवनशैली र सोचाइलाई पूर्ण रूपमा परिवर्तन गर्ने सम्भावना राख्छ ।

स्वतः निर्णय लिन सक्ने प्रणाली: एआईको मद्दतले कारलाई स्वतः चलाउन सक्षम बनाउनेछ, जसले यातायातको सुरक्षा र दक्षता सुधार्नेछ । विभिन्न उद्योग, जस्तै— निर्माण, कृषि, र आपूर्ति श्रृंखला व्यवस्थापनमा एआईमा आधारित यन्त्रहरू स्वतः निर्णय गर्न र कार्यहरू सम्पन्न गर्न सक्षम हुनेछन् ।

स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधार: एआई प्रणालीले ठूलो डाटा विश्लेषण गरेर बिमारीहरूको सही निदान गर्न सक्छन् र व्यक्तिगत उपचार योजना तयार गर्न मद्दत पुर्‍याउँछन् । एआईले औषधि अनुसन्धानमा समय र संसाधन बचाएर नयाँ औषधि र उपचार विधिहरूलाई तेज रफ्तारमा विकास गर्न मद्दत पुर्‍याउन सक्छ । एआई प्रणालीको मद्दतले विशेषज्ञ डाक्टरहरूको सहयोगबिना पनि अन्य स्थानमा रहेका बिरामीहरूको उपचार गर्न सकिन्छ ।

शिक्षा र सिकाइमा अनुकूलता: एआई शिक्षकका रूपमा काम गर्दै व्यक्तिगत रूपमा प्रत्येक विद्यार्थीको आवश्यकतामा आधारित पाठ्यक्रम तयार गर्नेछ । साथै, विभिन्न भाषाको अनुवाद र सिकाइमा सुधार गर्नेछ, जसले सबैलाई सजिलै विभिन्न भाषामा संवाद गर्न सक्षम बनाउनेछ । एआईको मद्दतले कक्षाकोठामा शैक्षिक सामग्रीको अनुकूलन र विद्यार्थीहरूको प्रगति ट्र्याक गर्न सकिनेछ ।

मानवरोग र सहायक यन्त्र: घर तथा कार्यालयमा रोबोट सहायकले दैनिक कार्यहरू जस्तै सफा गर्न, खाना पकाउन र अन्य प्रशासनिक कार्य गर्न सक्नेछन् । वृद्ध वा अपांग व्यक्तिहरूका लागि एआईमार्फत सञ्चालित रोबोटले सहारा दिन, औषधि ल्याउन र अन्य आधारभूत सेवा प्रदान गर्न सक्नेछन् । एआई रोबोटले मानिससँग प्राकृतिक भाषामा संवाद गर्न र उनलाई सहयोग गर्न सक्षम हुनेछन् ।

सृजनात्मक कार्य: एआईले कला र संगीत सिर्जना गर्न सक्नेछ, जस्तै— चित्र बनाउने, संगीत लेख्ने वा लेख, उपन्यास लेख्ने । यसले सिर्जनात्मक उद्योगमा नयाँ–नयाँ सम्भावनाहरू सिर्जना गर्न मद्दत पुर्‍याउनेछ । एआईलाई चलचित्र लेखन, निर्देशन र सम्पादनजस्ता कार्यहरूमा प्रयोग गर्न सकिनेछ ।

व्यवसाय र वित्त: एआई च्याटबोट्स र भ्वाइस असिस्टेन्टहरूले ग्राहक सेवामा सजिलो र छिटो समाधान दिनेछन् । एआईमा आधारित प्रणालीहरूले वित्तीय बजारको विश्लेषण गरेर सही लगानी निर्णय गर्न मद्दत गर्नेछन् । एआईले आपूर्ति चेन व्यवस्थापन र स्टोक नियन्त्रणमा सुधार ल्याउन मद्दत पुर्‍याउनेछ ।
सुरक्षा र निगरानी: एआईको मद्दतले सार्वजनिक स्थानहरूमा निगरानी राखेर अपराध पत्ता लगाउन र अपराधीहरूलाई पहिचान गर्न सकिन्छ । एआई सिस्टमले साइबर हमलाहरूको पूर्वानुमान गरेर डेटा सुरक्षा बढाउन मद्दत गर्नेछन् । एआईद्वारा सहरमा जोखिम र आपत्कालीन घटनाको पूर्वानुमान गरेर तिनीहरूको समाधान गर्न सकिन्छ ।

सामाजिक र मनोविज्ञान: एआईले मानिसको मानसिक अवस्था र व्यवहार विश्लेषण गरेर मानसिक स्वास्थ्य समस्या पहिचान गर्न मद्दत गर्न सक्छ । एआईद्वारा सञ्चालित च्याटबोटले मानिसलाई भावनात्मक सहारा र मानसिक विश्राम दिने कार्य गर्न सक्छन् ।

आर्टिफिसियल जनरल इन्टेलिजेन्स: भविष्यमा एआई जनरल इन्टेलिजेन्स विकसित हुन सक्नेछ, जसले मानिसजस्तै विवेक, सोच र निर्णय क्षमता प्राप्त गर्नेछ । यदि एआई अत्यधिक शक्तिशाली भयो भने यसले समस्याको समाधान गर्न र नयाँ आविष्कारहरू गर्न मानिसभन्दा धेरै छिटो र दक्षतासाथ काम गर्न सक्छ । एआईले भविष्यमा मनुष्यको जीवनलाई सजिलो मात्र बनाउँदैन, यसले धेरै जटिल कार्यहरू, जस्तै चिकित्सा, शिक्षा, वित्त, सुरक्षा र सिर्जना गर्न मद्दतसमेत गर्नेछ । तर, यससँगै यसको प्रयोगका साथ आन्तरिक चुनौती र नैतिक समस्याहरू पनि उत्पन्न हुन सक्नेछन्, जस्तै— रोजगारीको असर, गोपनीयता र नियन्त्रण ।

जेनेरेटिभ एआई के हो ?
जेनेरेटिभ एआई भनेको कम्प्युटरलाई नयाँ सामग्री सिर्जना गर्न सिकाउने प्रविधि हो । यसले नयाँ टेक्स्ट, तस्बिर, भिडियो, संगीत, कोड आदि बनाउन सक्छ । यसमा सर्वप्रथम धेरैभन्दा धेरै डेटा भण्डारण गरिन्छ, जस्तै— किताब, लेख, तस्बिर, भिडियो आदि । त्यसपछि यसले डेटाका ढाँचा (डेटाभित्रका सम्बन्ध) हरू बुझ्ने कार्य गर्छ र तत्पश्चात् नयाँ चिज (नयाँ लेख, तस्बिर वा संगीत आदि) को सिर्जना गर्छ ।

जेनेरेटिभ एआईका उदाहरण
च्याट जिपिटी: नयाँ लेख, कविता, कथा लेख्न सक्छ ।
डल ई: आफ्नो आवश्यकताअनुसारको चित्र बनाउँछ ।
जुकबक्स एआई: नयाँ गीतको सृजना गर्छ ।
रनवे एआई: भिडियो एडिटिङ र जेनेरेसन गर्छ ।
जेनेरेटिभ एआईको प्रयोग कहाँ–कहाँ हुन्छ ?
लेखनमा: ब्लग, समाचार, कथा लेख्न ।
डिजाइनमा: ग्राफिक्स, लोगो बनाउन ।
मनोरञ्जनमा: गीत बनाउन, फिल्ममा स्पेसल इफेक्ट बनाउन ।
शिक्षामा: नोट र प्रेजेन्टेसन तयार गर्न ।

जेनेरेटिभ एआईले समयको बचत गर्छ, रचनात्मकता बढाउँछ, उत्पादनशीलता बढाउँछ भने यसले गलत जानकारी दिन सक्छ । कलाकार र लेखकहरूको रोजगारीमा असर पर्न सक्छ । नक्कली तस्बिर वा भिडियो बनाउन दुरुपयोग हुन सक्छ । समग्रमा जेनेरेटिभ एआई आज र पछिको भविष्यको प्रविधि हो, जसले लेखन, डिजाइन, संगीत, फिल्मलगायत धेरै क्षेत्रमा क्रान्ति ल्याइरहेको छ । https://www.karobardaily.com/news/283734
(लेखक, आइटी कन्सल्टेन्ट हुन् ।) प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

Contact

Call Me

+977 9803066701 (Primary; WhatsApp/Viber)
+977 9843067142 (In case of Emergency only)

Email Me

hemanta.baral@gmail.com

Address

Kathmandu, NEPAL