अनिद्रा तथा यसबाट बच्ने उपाय

अनिद्रा तथा यसबाट बच्ने उपाय

अनिद्रा तथा यसबाट बच्ने उपाय

आजको युगमा विभिन्न जीवनशैली तथा खानपानका कारण विश्वव्यापी जनसंख्याको एक महत्वपूर्ण हिस्सा गहिरो निद्राको अभावबाट ग्रस्त छ ।

विभिन्न अध्ययनका अनुसार विश्वव्यापी १०–३० प्रतिशत वयस्कले दीर्घकालीन अनिद्राको अनुभव गरेका हुन्छन्, जसले गहिरो निद्रामा प्रत्यक्ष प्रभाव पार्छ । नेचर कम्युनिकेसन्समा प्रकाशित एक अध्ययनले ६० प्रतिशतभन्दा बढी वयस्कले नियमित रूपमा पर्याप्त गहिरो निद्रा नपाउने गरेको पाइएको छ ।

६५ वर्षमाथिका वृद्धवृद्धामा उमेरसँगै स्वाभाविक रूपमा गहिरो निद्रा कम हुन्छ र उनीहरूले गहिरो निद्राको चरणमा कुल निद्राको १० प्रतिशतभन्दा कम अनुभव गरेका हुन्छन् । त्यस्तै १८ देखि ३० वर्षका युवा वयस्कले १५–२५ प्रतिशत गहिरो निद्रा लिनुपर्छ, तर तनाव, प्रविधिको प्रयोग र अनियमित निद्राको तालिकाले यसलाई कम गरिरहेको छ । बालबालिका र १८ वर्ष उमेरभित्रका किशोरकिशोरीलाई सबैभन्दा गहिरो निद्रा (२०–२५ प्रतिशत) को आवश्यकता रहन्छ, तर स्क्रिन समय र सामाजिक बानीका कारण सोबाट वञ्चित छन् । त्यस्तै सिफ्टमा काम गर्ने कामदार अनियमित निद्रा–चक्रका कारण ४० प्रतिशतसम्म कम गहिरो निद्राबाट ग्रस्त हुन्छन् । साथै, उच्च तनावपूर्ण काम भएका व्यक्ति, जस्तै— कम्पनीका सिइओ, डाक्टर र आपत्कालीन कामदारहरू कम गहिरो निद्राको अवस्थाबाट गुज्रिरहेका हुन्छन् । त्यस्तै गरेर टेक्नोलोजी प्रयोगकर्ताका लागि नीलो प्रकाशयुक्त स्क्रिन एक्सपोजरले मेलाटोनिनलाई बाधा पुर्‍याउँछ र गहिरो निद्राको अवधि घटाइरहेको हुन्छ ।

अनिद्रा भएका मानिसले गहिरो निद्रामा प्रवेश गर्न संघर्ष गरिरहेका हुन्छन्, प्रतिरात १५–२० प्रतिशतको सट्टा केवल ५–१० प्रतिशत गहिरो निद्राको अनुभव लिइरहेका हुन्छन् । चिन्ता र डिप्रेसन भएका ९० प्रतिशत मानिस कम गहिरो निद्राको सिकार भइरहेका हुन्छन् । यदि तपाईं सात–आठ घण्टा सुत्दा पनि थकित महसुस गरिरहनुभएको छ भने तपाईंले पर्याप्त गहिरो निद्रा नपाएको हुन सक्छ ।

राम्रो निद्रा स्वच्छता अभ्यास, स्क्रिन समय कम गर्नु र तनाव व्यवस्थापनले गहिरो निद्रा गुणस्तर सुधार गर्न मद्दत गर्न सक्छ ।
निद्रा किन लाग्दैन ?

आजकाल धेरै मानिस निद्रा नलाग्ने समस्याबाट ग्रसित छन् । मानिसलाई निद्रा नलाग्नुका विभिन्न कारण हुन सक्छन् ।

१. तनाव र चिन्ता: धेरै मानिस कामको दबाब, पारिवारिक समस्या वा आर्थिक चिन्ताका कारण मानसिक तनावमा रहन्छन्, जसले गर्दा मस्तिष्कले आराम गर्न सक्दैन र निद्रा आउन गाह्रो हुन्छ ।
२. मोबाइल र स्क्रिनको प्रयोग: सुत्नुअघि मोबाइल, ल्यापटप वा टिभी हेर्दा तिनबाट निस्कने ब्लु लाइटले शरीरको मेलाटोनिन (निद्रालाई नियन्त्रित गर्ने हार्मोन) उत्पादन कम गर्छ, जसले गर्दा निद्रा बिग्रिन्छ ।
३. अनियमित दिनचर्या: बेलुका अबेर सुत्ने, अनियमित समयमा खाना खाने वा हरेक दिन फरक–फरक समयमा सुत्ने बानीले शरीरको प्राकृतिक रोटेसनमा असर परेको हुन्छ ।
४. क्याफिन वा मदिराको सेवन: चिया, कफी, सोडा वा इनर्जी ड्रिंकमा पाइने क्याफिनले मस्तिष्कलाई उत्तेजित बनाउँछ र निद्रा लाने प्रक्रियालाई ढिला गराउँछ ।
५. मानसिक वा शारीरिक रोग: डिप्रेसन, एन्जाइटी, उच्च रक्तचाप, दम वा अन्य दीर्घकालीन रोगहरूले पनि निद्रामा असर पार्न सक्छ ।
६. शारीरिक गतिविधि कमी: नियमित व्यायाम नगर्दा शरीर थाक्दैन, जसले गर्दा राति राम्ररी निदाउन कठिन हुन्छ ।
७. खराब सुत्ने वातावरण: धेरै उज्यालो, आवाज आउने ठाउँ, असजिलो ओछ्यान वा गर्मी वा चिसो धेरै भएको वातावरणले पनि निद्रा बिगार्न सक्छ ।

निद्रा सुधार्न के गर्न सकिन्छ ?
नियमित समयमा सुत्ने र उठ्ने बानी बसाल्ने ।
मोबाइल, टिभी वा ल्यापटप सुत्नुभन्दा कम्तीमा ३० मिनेटअगाडि बन्द गर्ने ।
क्याफिनयुक्त खानेकुरा बेलुका नखाने ।
व्यायाम वा ध्यान गर्ने ।
शान्त, अँध्यारो र सहज सुत्ने वातावरण बनाउने ।

निद्रा नलागे कस्तो व्यायाम गर्ने ?
यदि तपाईंलाई निद्रा लागिरहेको छैन भने हल्का र आरामदायी व्यायाम गर्न सकिन्छ, जसले शरीरलाई रिल्याक्स गर्न मद्दत गर्छ । यस्तो व्यायामले तनाव कम गर्छ, रक्तचाप घटाउँछ र शरीरलाई निद्राका लागि तयार पार्छ ।

१. गहिरो श्वास प्रक्रिया: आँखा बन्द गरेर निधार सीधा राख्ने, नाकबाट बिस्तारै ४ सेकेन्ड सास लिने, ५–७ सेकेन्ड श्वास भित्र रोक्ने र मुखबाट बिस्तारै ८ सेकेन्ड लगाएर सास फाल्ने । यो प्रक्रिया ५–१० पटक दोहो/=याउने । यसले मस्तिष्कलाई शान्त बनाउँछ, मुटुको धड्कन सन्तुलित गर्छ र निद्रा ल्याउन मद्दत गर्छ ।
२. हल्का स्ट्रेचिङ: हात–खुट्टा तन्काउने, घुँडा टेकेर अगाडि झुक्ने, ढाड सीधा राखेर मेरुदण्डलाई बिस्तारै तन्काउने । यसले शरीरलाई रिल्याक्स गराउँछ, मांसपेशीको तनाव कम गर्छ र सुत्न सजिलो बनाउँछ ।
३. बालासन: घुँडामा बसेर अगाडि झुक्ने, निधार भुइँमा राख्ने, हात अगाडि तन्काउने, ३०–६० सेकेन्डसम्म यसै स्थितिमा बस्ने, यसले शरीर र मनलाई शान्त बनाउँछ, तनाव घटाउँछ र निद्रा बढाउँछ ।
४. पाउल मुद्रा योगासन: भुइँमा सुत्ने, खुट्टा भित्तामा सीधा राख्ने, ५–१० मिनेट त्यसरी नै बस्ने । यसले रक्तसञ्चार सुधार गर्छ, शरीरलाई हल्का महसुस गराउँछ र निद्रालाई प्रवद्र्धन गर्छ ।
५. शवासन: सीधा पल्टिने, हातखुट्टा ढिलो छोड्ने, आँखा बन्द गरेर शरीरको हरेक भागलाई रिल्याक्स गर्ने, ध्यान केन्द्रित गर्दै ५–१० मिनेट बस्ने । यो सबैभन्दा प्रभावकारी आरामदायी आसन हो, जसले निद्रा ल्याउन ठूलो मद्दत गर्छ ।

निद्रा नलागे कस्तो ध्यान गर्ने ?
१. योग निद्रा (गहिरो विश्राम र आत्मचेतनाको योग): योग निद्रालाई योगी निद्रा वा सचेत सपनाजस्तो अवस्था पनि भनिन्छ । यो एक प्रकारको गहिरो ध्यान हो, जसले शरीर, मन र आत्मालाई पूर्ण रूपमा विश्राम दिन्छ । यो अर्धसुप्त र अर्धजागृत अवस्थामा रहने ध्यानको विधि हो । यसमा शरीर निद्रामा हुन्छ तर मन भने पूर्ण रूपमा सचेत रहन्छ । योग निद्रा सामान्यतः शवासनमा गरिन्छ, जहाँ शरीर स्थिर रहन्छ र मन सचेतनाको यात्रा गर्छ ।

यसका लागि आरामदायी शान्त स्थान रोज्ने र शवासनमा सुत्ने । शरीरलाई शिथिल बनाउने, मांसपेशीलाई आराम दिने र तनाव हटाउने । गहिरो, सहज र प्राकृतिक रूपमा सास फेर्ने र श्वासप्रश्वासलाई नियन्त्रित गर्ने । आफ्नो पूरा शरीरका विभिन्न मुख्य–मुख्य भागमा ध्यान केन्द्रित गर्दै क्रमशः शिथिल बनाउने । कल्पनाशक्तिको प्रयोग गरेर समुद्र, पहाड, सुन्दर पार्क, खोला, जंगल वा उज्यालो प्रकाश देख्ने प्रयास गर्ने । मनमा कुनै सकारात्मक संकल्प राख्ने र अन्त्यमा बिस्तारै शरीरलाई चलाएर, आँखा खोल्दै सचेत रूपमा निद्राबाट बाहिरिने । उत्कृष्ट नतिजा ल्याउनका लागि यो विधि कम्तीमा पनि २१ दिन या १ महिनासम्म गर्न सकिन्छ ।

योग निद्राले, शारीरिक र मानसिक तनाव कम गर्छ, गहिरो विश्राम प्रदान गर्छ, जसले निद्राको गुणस्तर सुधार गर्छ । डिप्रेसन, चिन्ता र अनिद्रा हटाउन मद्दत गर्छ । मस्तिष्कलाई शान्त पार्छ र स्मरणशक्ति बढाउँछ । शरीरको ऊर्जा पुनः सञ्चय गर्छ ।

योग निद्रा केवल निद्रासँग मात्र सम्बन्धित नरहेर यो चेतनाको गहिरो तहसम्म पुग्ने एक अद्भुत विधि हो । यसको नियमित अभ्यास गरेमा सिर्जनात्मकता, आत्मबोध, शारीरिक–मानसिक स्वास्थ्य र ध्यान क्षमता बढ्छ । सारांशमा योग निद्रा भनेको सचेत निद्रा हो, जहाँ शरीर सुत्छ तर आत्मा जागृत रहन्छ ।

२. स्वर ध्यान विधि: यो श्वास वा स्वरको माध्ययमबाट गरिने ध्यान विधि हो । यस ध्यान विधिमा हामी आफ्नो श्वासप्रश्वासलाई सचेत रूपमा नियाल्छौँ र त्यसको लय, प्रवाह तथा ऊर्जालाई अनुभव गर्छौं । योे आफ्नो श्वासप्रश्वासमा पूर्ण रूपमा केन्द्रित हुने ध्यान विधि हो ।

यसमा हामी श्वास लिने र फेर्ने प्रक्रियालाई सचेत रूपमा अवलोकन गर्छौं । यो विधि प्राचीन योगशास्त्र तथा तन्त्र विद्यामा स्वर विज्ञानको एउटा महत्वपूर्ण भाग हो ।

यसका लागि शान्त ठाउँमा आरामदायी आसन (पदमासन वा सुखासन) मा बस्ने । आँखा बन्द गरी ध्यान केन्द्रित गर्ने । कुनै बल नगरी श्वासलाई प्राकृतिक रूपमा बग्न दिन, सहज रूपमा श्वास लिने । श्वासप्रश्वासको प्रवाहमा ध्यान दिने, श्वास नाकको कुन प्वालबाट बढी आइरहेको छ ? श्वासको लय कस्तो छ— लामो कि छोटो ? स्वाभाविक रूपमा गहिरो श्वास लिने र छोड्ने । ध्यानको अवधि बढाउने, सुरुमा ५–१० मिनेट अभ्यास गर्ने र क्रमशः समय बढाउने । स्वर ध्यानको विधि गर्नाले, शरीर र मनलाई शान्त पार्छ । तनाव, चिन्ता र मानसिक अशान्ति कम गर्छ । श्वास नियन्त्रण गर्न मद्दत गर्छ, जसले शरीरलाई ऊर्जा दिन्छ । ध्यानको क्षमता बढाउँछ र मस्तिष्कलाई स्थिर बनाउँछ । इन्द्रियहरूलाई तीक्ष्ण बनाउँछ र एकाग्रता बढाउँछ । श्वासको प्रवाह बुझ्दा दिनभरको ऊर्जा व्यवस्थापन गर्न सजिलो हुन्छ ।

स्वर ध्यान भनेको श्वासलाई मात्र नियाल्ने सरल तर प्रभावशाली ध्यान प्रविधि हो । यसको नियमित अभ्यास गरेमा मनको चञ्चलता कम भई मानसिक शान्ति र ध्यानको गहिरो अनुभव प्राप्त गर्न सकिन्छ । हेमन्त बराल

(व्यावहारिक अनुभव तथा वैज्ञानिक प्रमाणमा आधारित)
(लेखक (स्वामी प्रेम सन्देश) ओशोका शिष्य हुन् ।)
https://www.karobardaily.com/news/281119

प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

Contact

Call Me

+977 9803066701 (Primary; WhatsApp/Viber)
+977 9843067142 (In case of Emergency only)

Email Me

hemanta.baral@gmail.com

Address

Kathmandu, NEPAL