चुनौतीको चक्रव्यूहमा सम्भावनाको खोजीः कसरी बन्ला ‘स्मार्ट’ नेपाल ?

चुनौतीको चक्रव्यूहमा सम्भावनाको खोजीः कसरी बन्ला ‘स्मार्ट’ नेपाल ?

चुनौतीको चक्रव्यूहमा सम्भावनाको खोजीः कसरी बन्ला ‘स्मार्ट’ नेपाल ?


हेमन्त बराल
   १९ जेठ २०८३

नेपाल आज ऐतिहासिक मोडमा उभिएको छ । एकातिर तीव्र सहरीकरण, बेरोजगारी, अव्यवस्थित पूर्वाधार, प्रदूषण, भ्रष्टाचार र आयातमा निर्भर अर्थतन्त्रजस्ता चुनौतीहरू छन् भने अर्कातर्फ जलस्रोत, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, युवा जनशक्ति र भौगोलिक अवस्थितिजस्ता अपार सम्भावनाहरू पनि छन् । यही सन्दर्भमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई सफल बनाउन अब नेपालले ‘समृद्ध सहर’ को अवधारणालाई विकासको मुख्य आधार बनाउनु आवश्यक छ । अबको नेपाल केवल सडक र भवनले बनेको सहर होइन, प्रविधि, सुशासन, हरित ऊर्जा, नवप्रवर्तन, रोजगारी र नागरिकमैत्री सेवाले सञ्चालन हुने समृद्ध राष्ट्रतर्फ अघि बढ्नुपर्छ ।
समृद्ध सहर भनेको केवल डिजिटल प्रविधि प्रयोग भएको सहर मात्र होइन । यो आर्थिक, सामाजिक, वातावरणीय र प्रशासनिक रूपान्तरणको समग्र मोडेल हो । यस्तो सहरमा स्मार्ट नागरिक, स्मार्ट संस्था, स्मार्ट समुदाय र स्मार्ट शासनको विकास गरिन्छ । कृत्रिम बुद्धिमत्ता, इन्टरनेट अफ थिङ्स, क्लाउड कम्प्युटिङ, ब्लकचेन, फाइभ–जी नेटवर्क, डाटा सेन्टर, डिजिटल सेवा, हरित ऊर्जा र दिगो पूर्वाधारलाई एकीकृत गरी नागरिकको जीवनस्तर सुधार गरिन्छ । समृद्ध सहरको अन्तिम लक्ष्य भनेको ‘सुखी नागरिक, समृद्ध समाज र आत्मनिर्भर राष्ट्र’ निर्माण गर्नु हो ।
नेपालको सबैभन्दा ठूलो प्राकृतिक सम्पत्ति जलविद्युत् हो । हिमालयबाट बग्ने हजारौँ नदीले नेपाललाई दक्षिण एसियाको ऊर्जा केन्द्र बन्ने अवसर दिएका छन् । ठूलो मात्रामा जलविद्युत् उत्पादन गरी स्वदेशी आवश्यकता पूरा गरेपछि अतिरिक्त विद्युत् छिमेकी मुलुकहरूमा निर्यात गर्न सकिन्छ । साथै, सौर्य ऊर्जा र पवन ऊर्जामा लगानी विस्तार गरी नेपाललाई स्वच्छ ऊर्जा सम्पन्न राष्ट्र बनाउन सकिन्छ । विद्युतीय सवारी, विद्युतीय बस, केवलकार र विद्युतीय रेलको विस्तारले प्रदूषण घटाउनुका साथै इन्धन आयातमा ठूलो कमी ल्याउनेछ । रेलमार्गले कृषि तथा औद्योगिक उत्पादनलाई बजारसम्म छिटो पुर्‍याउन मद्दत गर्नेछ । नेपालको चिसो हिमाली वातावरण र जलविद्युत्को उपलब्धताले डाटा सेन्टर, उच्च क्षमतायुक्त कम्प्युटिङ तथा डिजिटल उद्योग स्थापना गर्न पनि ठूलो सम्भावना सिर्जना गरेको छ ।
नेपालको पर्यटन क्षेत्रलाई पनि स्मार्ट पर्यटनमा रूपान्तरण गर्नुपर्छ । विश्वकै उत्कृष्ट हिमाल, धार्मिक सम्पदा, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य हुँदाहुँदै पनि नेपालले पर्यटनबाट अपेक्षित लाभ लिन सकेको छैन । अब सुपर हाइवे, अन्तर्राष्ट्रिय विमानस्थल, डिजिटल बुकिङ प्रणाली, किफायती माउन्टेन फ्लाइट, योग तथा ध्यान पर्यटन, धार्मिक पर्यटन, इको–टुरिज्म र भर्चुअल पर्यटन प्रणालीलाई प्राथमिकता दिनुपर्छ । सम्पदा क्षेत्रमा क्यूआर कोड, बहुभाषिक डिजिटल गाइड, भर्चुअल रियालिटी तथा स्मार्ट टिकटिङ प्रणाली लागू गर्न सकिएमा नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्य बनाउन सकिन्छ । पर्यटनलाई स्थानीय कृषि, हस्तकला, होटल, यातायात र ग्रामीण अर्थतन्त्रसँग जोडेर लाखौँ रोजगारी सिर्जना गर्न सकिन्छ ।
कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भए पनि अझै परम्परागत प्रणालीमै सीमित छ । अब वैज्ञानिक कृषि, आधुनिक सिँचाइ, डिजिटल कृषि र व्यावसायिक पशुपालनलाई राष्ट्रिय प्राथमिकता बनाउनु आवश्यक छ । माटोको अवस्था, तापक्रम, आद्र्रता र मौसमको जानकारी दिने सेन्सर, ड्रोन प्रविधि, स्वचालित सिँचाइ प्रणाली तथा ई–मण्डी प्लेटफर्मले कृषिलाई आधुनिक र उत्पादनमुखी बनाउन सक्छ । सीमित जमिनमा बढी उत्पादनका लागि भर्टिकल फार्मिङको अवधारणा सहरी क्षेत्रमा प्रभावकारी हुन सक्छ । कृषि उत्पादनलाई प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र निर्यातसँग जोड्न सकेमा नेपालले ठूलो आर्थिक लाभ लिन सक्छ ।
नेपालमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी, कपास, दलहन, मसला, पस्मिना, गलैँचा तथा हस्तकलाजस्ता उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डको रूपमा विकास गर्न सकिन्छ । नेपाली उत्पादन ‘खुकुरी रम’ ले अन्तर्राष्ट्रिय बजारमा स्थापित गरेको सफलताले देखाएको छ कि गुणस्तरीय नेपाली उत्पादन विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छन् । हिमाली मुहानको पानीबाट उत्पादित पेय पदार्थ, छाला उद्योग, जडीबुटी तथा अन्य स्थानीय उत्पादनलाई पनि विश्व बजारमा प्रवद्र्धन गर्न सकिन्छ । मूल्य अभिवृद्धि, औद्योगीकरण र निर्यातमुखी उत्पादनले नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
सूचना प्रविधि र डिजिटल शासन समृद्ध नेपालको आधारशिला हो । नेपालका युवाहरूलाई सूचना प्रविधिमा दक्ष बनाई विदेशी आउटसोर्सिङ कम्पनी, सफ्टवेयर उद्योग, डिजिटल सेवा र स्टार्टअप इकोसिस्टम विकास गर्न सकिन्छ । ई–गभर्नेन्स प्रणालीले सरकारी सेवा स्वचालित, पारदर्शी र प्रभावकारी बनाउनेछ । फेसलेस तथा पेपरलेस सेवाले भ्रष्टाचार नियन्त्रणमा ऐतिहासिक परिवर्तन ल्याउन सक्छ । नागरिकता, राहदानी, मालपोत, कर, लाइसेन्स, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र व्यवसाय दर्ताजस्ता सेवाहरू मोबाइल वा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउनु अबको आवश्यकता हो ।
नेपालका सहरहरूमा ट्राफिक जाम, फोहर व्यवस्थापन, पानी चुहावट र अव्यवस्थित सहरीकरण गम्भीर चुनौतीका रूपमा देखा परेका छन् । कृत्रिम बुद्धिमत्तामा आधारित स्मार्ट ट्राफिक प्रणाली, स्मार्ट पार्किङ, सार्वजनिक यातायात ट्र्याकिङ, स्मार्ट सडक बत्ती, स्मार्ट पानी मिटर, फोहर व्यवस्थापन सेन्सर तथा ऊर्जा दक्ष प्रणाली लागू गर्न सकिएमा सहरहरू व्यवस्थित र दिगो बन्न सक्छन् । फोहरबाट ऊर्जा उत्पादन, रिसाइक्लिङ प्लान्ट तथा हरित भवन मापदण्डले वातावरण संरक्षणमा ठूलो योगदान दिनेछ ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरण अपरिहार्य भइसकेको छ । डिजिटल हेल्थ कार्ड, टेलिमेडिसिन, इलेक्ट्रोनिक मेडिकल रेकर्ड तथा स्मार्ट अस्पताल प्रणालीले स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउनेछ । त्यसैगरी डिजिटल कक्षाकोठा, अनलाइन शिक्षा प्लेटफर्म, कृत्रिम बुद्धिमत्ता आधारित शिक्षण प्रणाली तथा ब्लकचेनमा आधारित शैक्षिक प्रमाणपत्रले नेपालको शिक्षा प्रणालीलाई आधुनिक बनाउनेछ । सरकारी विद्यालय र अस्पताललाई स्मार्ट प्रणालीमार्फत सुदृढ बनाउनु राष्ट्रिय प्राथमिकता हुनुपर्छ ।
रोजगारी सिर्जना र औद्योगिक पुनर्जागरण समृद्ध नेपालको अत्यन्त महत्वपूर्ण आधार हो । दिगो समृद्धि तब मात्र सम्भव हुन्छ जब देशभित्र सम्मानजनक रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । नेपाल अब वैदेशिक रोजगारी र विप्रेषणमा आधारित अर्थतन्त्रबाट स्वदेशी उत्पादन, उद्यमशीलता र औद्योगिक विकासमा आधारित अर्थतन्त्रतर्फ रूपान्तरण हुनुपर्छ । विशेष गरी ग्रामीण क्षेत्रमा घरेलु तथा कुटिर उद्योगहरूको प्रवद्र्धन आवश्यक छ । स्थानीय उत्पादनलाई ब्रान्डिङ, डिजिटल मार्केटिङ र सहकारी मोडेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिएमा लाखौँ युवालाई स्वदेशमै स्वरोजगार र रोजगारी सिर्जना गर्न सकिन्छ ।
कृषि, पशुपालन, उत्पादनमूलक उद्योग, साना तथा मझौला उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ । विगतमा सफल मानिएका गोरखकाली टायर, हेटौँडा कपडा उद्योग, बुटवल धागो उद्योग, वीरगञ्ज चिनी कारखाना, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी छाला तथा जुत्ता उद्योग र हिमाल सिमेन्टजस्ता उद्योगहरूको पुनर्जीवन आजको आवश्यकता हो । यी उद्योगहरूलाई आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र सार्वजनिक–निजी साझेदारीमार्फत पुनः सञ्चालन गर्न सकेमा आयात प्रतिस्थापन, उत्पादन वृद्धि, रोजगारी सिर्जना र औद्योगिक आत्मविश्वास पुनस्र्थापित गर्न ठूलो योगदान पुग्नेछ । नेपालले ‘मेक इन नेपाल’ अभियानमार्फत स्वदेशी उत्पादन र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अघि बढ्नुपर्छ ।
समृद्ध नेपालको अवधारणा सफल बनाउन तत्काल केही व्यावहारिक कदम चाल्नु आवश्यक छ । सरकारी सेवामा फेसलेस प्रणाली लागू गर्नुपर्छ । नागरिक सेवाका मोबाइल एप, सरकारी कार्यालयमा क्यू म्यानेजमेन्ट प्रणाली, सार्वजनिक स्थलमा गन्धरहित आधुनिक शौचालय, सरकारी अस्पतालमा स्मार्ट स्वास्थ्य प्रणाली, सरकारी विद्यालयमा डिजिटल शिक्षा, नागरिक सहायता कल सेन्टर तथा सामाजिक सञ्जालमार्फत जनचेतना अभियानलाई प्राथमिकता दिनुपर्छ । कर, दर्ता, खोप, सामाजिक सुरक्षा भत्तालगायतका सेवाहरू स्वचालित प्रणालीमार्फत सञ्चालन गर्नुपर्छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिई समावेशी विकास सुनिश्चित गर्नुपर्छ ।
नेपालको भविष्यको मार्ग स्पष्ट छ— स्मार्ट नागरिकबाट स्मार्ट घर, स्मार्ट समुदाय, स्मार्ट गाउँ, स्मार्ट नगरपालिका, स्मार्ट प्रदेश हुँदै स्मार्ट राष्ट्र निर्माण गर्ने । ‘समृद्ध नेपाल, सुखी नेपाली’ केवल राजनीतिक नारामात्र होइन, यो प्रविधि, सुशासन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, कृषि, उद्योग र रोजगारीलाई एकीकृत रूपमा अघि बढाउने राष्ट्रिय अभियान हो । यदि नेपालले दीर्घकालीन दृष्टिकोण, राजनीतिक प्रतिबद्धता, पारदर्शी शासन र आधुनिक प्रविधिको प्रभावकारी उपयोग गर्न सकेमा आगामी दशकभित्र नेपाल दक्षिण एसियाकै स्मार्ट, समृद्ध र दिगो राष्ट्रका रूपमा स्थापित हुन सक्छ । https://www.karobardaily.com/news/380855

Contact

Call Me

+977 9803066701 (Primary; WhatsApp/Viber)
+977 9843067142 (In case of Emergency only)

Email Me

hemanta.baral@gmail.com

Address

Kathmandu, NEPAL